December 28, 2006
पाएका छौ जनताका धेरै जीन्दाबादहरु ।
अझै सेलाएका छैनन् प्रतिगामी नादहरु ।।
बाचाएर राख आफ्ना नैतकता भोलिलाइ,
बेला अझै आँउदैछ,हेर्न जीतका उन्मादहरु ।
होस गरी हिंड अझै चुनौति छन् पाईलामा,
अझै पछ्याउदै छन्, तिमीलाई, जल्लादहरु ।
दिएका छौं जिम्मा अब आमाको अस्मिता यो,
फेरि फेरि भोग्नु, नपरोस् ती विसादहरु ।
साँचेका छौं मनभरि देशको त्यो मुहारलाई,
सधैं सधैं देख्न पाइयोस् पुर्णिमाका चाँदहरु ।
पाएका छौ जनताका धेरै जीन्दाबादहरु ।
अझै सेलाएका छैनन् प्रतिगामी नादहरु ।।
Leave a Comment » |
Uncategorized |
Permalink
Posted by khotange
December 15, 2006
नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।
सोचेको छु तिमीसँग बिताउन केही पलहरु ,
हरेक बढ्ने पाइलामा, सधै घात लाग्ने रैछ ।
लुकाइ राखौं भन्छु सधैं आँखाभित्रै तिमीलाई,
भागि हिड्छन् रहरहरु ,शुन्य हात लाग्ने रैछ ।
देखेकै छैन भन्छेउ तिमी, मैले कतै तिमीलाई
सपनीमा रातभरी, तस्वीर खात लाग्ने रैछ ।
बिहानीको आशा गर्छु, भेट्न सधैं तिमीलाइ
नपाउदै यो मन भर्न छिट्टै रात लाग्ने रैछ ।
नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।
(यो, कसैलाई, कुनै उद्देश्यले लेखिएको नभएता पनि कसैलाइ केहि पर्न गएमा त्यो संयोग मात्र हुनेछ )
5 Comments |
Uncategorized |
Permalink
Posted by khotange
December 11, 2006
उत्सबजी,
पिउन गाह्रो छ,
नपिइ जिउन गाह्रो छ ।
कता मात्र टालौ यो
फाटेको मन
शब्दले मात्र त
सिउन गाह्रो छ ।
पानी लेखुं कि दारु लेखुं
खुट्ट्याउन गाह्रो छ ।
जस्तो कि
माया हो कि स्बाङ्ग
छुट्याउन गाह्रो छ ।
के टाढा के नजिक
नाप्न गाह्रो छ
मनलाई मुट्ठिभित्र
राख्न गाह्रो छ ।
खै,के भनु उत्सबजी
जाडो छ, त्यसैले
कसैलाई रम प्यारो छ
कसैलाई ब्रान्डी प्यारो छ,
आफु परियो सँधै टाढाको
त्यसैले,
यही कम्प्युटर प्यारो छ ।
4 Comments |
Uncategorized |
Permalink
Posted by khotange
December 11, 2006
आज बिहानैदेखि पानी परिरहेको छ । रमाइलो लाग्छ-यो पानी पर्दा । किन हो सानै देखि नै मलाई बर्षा अति नै आनन्ददायक लाग्छ ।
पानी पर्दा स्कुलबाट भागेर डिल्लीबजारको ओरालोमा कागजको डुंगा बनाएर पानीमा भिज्दै खेलेको अब स्मृतिमा मात्र सीमित रह्यो ।
धेरै यस्ता स्मृतिहरु छन् जस्ले मन अल्हादित हुन्छ । पानीसँग सम्बन्धित ।
नक्सालदेखि झमझम परिरहेको पानीमा एक्लै भिज्दै घर गएको होस् वा स्कुलबाट भागेर बालाजु स्विमिङ खेल्न गएको होस् । पानीसँग मेरो आफ्नै आत्मियता छ । हुन त मेरो राशी मीन होइन, तर पनि पानीले मभित्र एउटा भावनाको मिठो तरंङ प्रवाह गर्छ- खै किन हो ।
म पानीदेखि रमाउँछु । यसले मलाई उर्जा दिन्छ, भावनात्मक उर्जा ।
घामपानी घामपानी स्यालको बिहे भन्दै चौरमा खेल्ने दिनहरु पनि गए अब।
पानीका बिबिध आयामहरुको आफ्नै महत्व छ । एक किसिमले यो जीवन पानी नै हो , हामी तरल छौं । अलिकति मन दुख्दा पानी पानी भएर हामी बहन्छौ । खुशीमा पनि पानी भएर पोखिन्छौ ।
भावनात्मकरुपमा पनि हामी तरल छौ । हाम्रा सम्बेदनाहरु पानी झै बागिरहेका छन् । यत्र तत्र । पोखिएर कता कता ।
यौन होस् वा जीवन्, समाज होस् वा राजनीति सबै तिर पानी नै पानी छ । सब पानी मै रमाइरहेका छन् ।
मायालुको स्पर्शले द्रवित हुँदा होस् वा कोशी गण्डकीमा राजनीति गर्दा होस् । सधैं पानीले नै महत्व पाइरहेको छ ।
यस्तो लाग्छ सधैं पानी मै रमाइ रहन पाए जीवन कति सार्थक हुन्थ्यो होला ।
पानी छ र त म छु, म छु र त पानी छ ।
बाहिर अझै पानी परिरहेको छ , म चाँदनी शाहको गीत सम्झिरहेको छु, तारादेवीले गाएको-
रिमझिम रिमझिम पानी परिरहेछ
एकनास एकहोरो
थामिने नामै नलिइ
बर्खा याम तिमीसँग
रात बितिरहेछ …………
3 Comments |
Uncategorized |
Permalink
Posted by khotange
December 10, 2006
आनन्दको मिठासमा जुनी काट्न पाए हुन्थ्यो ।
त्यसै त्यसै उर्लिएको मायाँ साट्न पाए हुन्थ्यो । ।
कति हिंड्नु एकान्तमा एक्लै सँधै बरालिदै,
कसैसँग पिरतीको डोरी बाट्न पाए हुन्थ्यो ।
मन लाग्छ तिमीलाइ दिन केही चिनो भनि,
मन त सधैं तिम्रै नै हो,सागर आँट्न पाए हुन्थ्यो ।
दिइ सारा खुशीहरु भरि तिम्रो अन्जुलीमा,
नजारमा दुनियाँको एकछिन ढाँट्न पाए हुन्थ्यो ।
अघाउजी पिउदै तिम्रा नशालु ती अधरहरु,
ल्याइ मधुशालाबाट प्रेमरस् चाट्न पाए हुन्थ्यो ।
आनन्दको मिठासमा जुनी काट्न पाए हुन्थ्यो ।
त्यसै त्यसै उर्लिएको माया साट्न पाए हुन्थ्यो । ।
(बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा; यो कसै उपर प्रक्षेपण गरिएको मिसाइल होइन )
1 Comment |
Uncategorized |
Permalink
Posted by khotange
December 8, 2006
पत्रीका निकाल्ने काम वास्तवमा गाह्रो छ । त्यस माथि पनि साहित्यिक ।
२३ बर्ष भएछ कुल अंक । र, १९ बर्ष भएछ नाम परिवर्तन गरेपछि ।
यो बीचमा मैले बुवालाई सघाउने काम बाहेक कुनै ठोस् योगदान दिन सकेको छैन । रोजी रोटीको लागि अर्काको जागिर खानु परेपछि त झन् भनेको बेलामा टाईम निकल्न पनि गार्हो । कति कार्यक्रमहरु ब्यस्तताको कारणले छुटेका छन् । बुवालाई सोध्छन रे खै फलानो त हिजो आज आउँदैन नि । मेरा आफ्नै बाध्यता छन् । सबैलाई भनेर पनि साध्य छैन । तर, जतिले चिन्छन मायाँ गर्छन । म सक्रिय रुपले साहित्यमा लगोस् भन्ने चाहन्छन ।
उनीहरुको पनि स्वार्थ छ, त्यो, पत्रीका नमरोस् भन्ने हो । उनीहरु यो पत्रीकाको निरन्तरताको चाहना राख्छन । त्यो ठीक पनि हो । आफ्नै किसिमको पहिचान बनाएको यो पत्रीकाम हाम्रो रगत पसिना परेको छ । बुवाले पैसा छाप्ने बेलाको उर्जाशिल समय त्यस्मा लगानी गर्नु भएको छ । मैले आफ्नो बैश लगाएको छु । आमा रात रात भर बुवालाई भात खान कुर्दा कुर्दा पिर्कामै निदाउनु भएको छ । धेरै सहृदयी श्रष्टाहारुको श्रम र समय लगानी भएको छ । त्यसैले पनि पत्रीकाको निरन्तरता जरुरी छ ।
यो क्षेत्र प्रोडकटिभ होइन होला तर पनि यस्का आफ्नै पाठकहरु छन । यस्को आफ्नै योग्दान छ, साहित्यिक फाँटमा । कति पाठकहरुको बौदिक खुराक बनेको छ यो । त्यसैले पनि यस्को निरन्तरता जरुरी छ ।
अब बुवाको पनि उमेर बिस्तरै ढल्कदै छ । खट्न त खटि नै रहनु भएको छ, त्यैपनि अब बुवालाई अब आरमको जरुरी छ । अब पूर्णरुपमा मैले जिम्मेवारी लिने बेला आइसक्यो ।
एउटा संस्था छ त्यसको सल्लाहकारमा मलाई पनि राखेको रहेछ । अघिल्लो शनिबार मिटिंग थियो । त्यहाँ पनि एक दुई जनाले मलाई भन्दै थिए, पत्रीकाकै बिषयमा ।
हो, साहित्यिक पत्रीका चलाऊनु भनेको फलामकै चिउरा चपाउनु हो । यो, अग्निपथमा हिंड्नु निश्चय नै गार्हो हुनेछ । तर पनि यो अभियानलाई सबैको सहयोगमा अघि बढाउने सोच छ ।(क्रमश:)
(यो फन्टको कारण नेपाली टाईप गर्दा दीर्घ र्हस्व मिलेको छैन मिलाएर पढिदिनु हुनेछ ।)
Leave a Comment » |
Uncategorized |
Permalink
Posted by khotange
December 4, 2006
आगमी जेष्ठ मा हुने भनिएको संबिधान सभाको निर्वाचन सम्पन्न हुने सम्भावना ज्यादै न्युन देखिन्छ । समयबधीको कारणले । यति छोटो समयमा निर्वाचनका लागि गर्नु पर्ने पूर्वधारहरु मिलाउन नै समय अपर्याप्त छ । त्यसैले पनि निर्वाचनको मिति घोषणा गर्न पनि कठिनाई भैरहेको छ ।
अर्को कुरा, अबका दिनहरुमा मुलुकमा स्पष्टरुपमा दुईटा राजनीतिक धारहरु देखिनेछन् । एउटा प्रजातान्त्रिक र अर्को बामपन्थी । सम्भवत : प्रजातान्त्रिक धारको नेतृत्व गिरिजा काङ्रेसले लिनेछ र बामपन्थी धारको नेतृत्व माओबादीले लिनेछ । अन्य साना पार्टिहरुलाई छोडेर मुख्य चिन्ता एमाले र प्रजातान्त्रिक काङ्रेसको राजनीतिक भविष्यको हो । जुनरुपको राजनीतिक ध्रुबिकरणको अनुमान गरिएको छ त्यसमा प्रजातान्त्रिक काङ्रेसले आफ्नो मूल पार्टिसँग मिलेर जानुको बिकल्प देखिदैन । कुरो रह्यो एमालेको, एमालेलाई साह्रै गाह्रो पर्नेछ आफ्नो राजनीतिक अस्तित्व जोगाउन ।
माओवादीहरु सार्वजनिक राजनीतिमा आउनु अघिसम्म दलिय ब्यबस्थामा एमालेले मुलुकको बामपन्थी शक्तिको अगुवा पार्टी आफूलाई मान्दै आएको थियो र एक हिसाबले मुलुककै ठुलो पार्टी मध्य एक भएको हिसाबमा त्यो कुरो ठीक पनि थियो । तर अब समय परिवर्तन भएको छ । बामपन्थी कम्बल ओढेर प्रजातान्त्रिक बाटोमा हिंड्न खोजेको एमालेलाई अबको दोबाटोमा कुन रोज्ने मुस्किल पर्नेछ । यस बीचमा अर्को धार तत्काल मुलुकले स्वीकार्न सक्ने सम्भावना पनि देखिदैन । अहिलेको परिवर्तनले समग्रमा मुलुकले लामो समयदेखिको कष्टबाट त्राण त पायो तर अब पार्टीगत हिसाबमा एमालेलाई भने ठूलो राजनीतिक चुनौति खडा गरिदियो ।
2 Comments |
Uncategorized |
Permalink
Posted by khotange
December 1, 2006
आज अलि मूड ठीक छैन । जीउमा पनि सन्चो छैन । राती पनि १०२ डिग्री ज्वरो आएको थियो । office मा अलिकति काम पेन्डिङ थियो त्यसैले नगै नहुने भएर आउनै पर्यो ।
मान्छेहरु पनि अजिब अजिब का फेला पर्छन यार । कोही कस्ता कोही कस्ता । उनिहरुको mood मा संसार चल्नु भन्ने कस्तो सन्किर्ण मानसिकता । friendship पो हो त unclear कुराहरु बसेर clearr गर्न सकिन्छ नि । फोकट्को घुर्की र प्रतिकृया । के के न गरिदिए जस्तो । उनिहरुलाई म चाँहीदैन भने मलाई मात्र किन चाँहीयो । के मैले सधैं उनिहरुको चाकडी गर्नु अनि उनिहरुको अनुग्रहमा बस्न रुचाउनु अनि उनिहरु लाई मेरो हरेक कुरा मन पर्ने, नत्र तु’ reaction? छ्या, पढेलेखेका मानिसहरुको मानसिकता ।
बौदिक दरिद्रता को यो भन्दा अर्को उदाहरण अन्त खोज्न जानु पर्ला ?
Leave a Comment » |
Uncategorized |
Permalink
Posted by khotange